ज्योतिष अनुसन्धान

ॐ 


ज्योतिष अनुसन्धानका कुराहरू प्रकाशन पाटी
ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सु़क्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्। ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो। राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – जस्तै मेष-मङ्गल वृष-शुक्र मिथुन-बुध कर्कट-चन्द्र सिंह-सूर्य कन्या-बुध तुला-शुक्र वृश्चिक-मङ्गल धनु-वृहस्पति मकर-शनी कुम्भ-शनी मीन-वृहस्पति। राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्। मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै। कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ। पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू।(ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरि सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो।[१]) यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाइ ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन। ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ

No comments: